४.१ दर्ता किताबमा नाम दर्ता गराउन दरखास्त दिने :
४.१.१ आयुर्वेद चिकित्सा व्यवसाय गर्न चाहने चिकित्सकले यो ऐन र नियमका अधीनमा रही दर्ता किताबमा नाम दर्ता गराउन तोकिए बमोजिम परिषद्मा दरखास्त दिनु पर्नेछ।
४.१.२ उपदफा ४.१.१ बमोजिम दरखास्त दिने चिकित्सकले दर्ता किताबमा नाम दर्ता गराउन तोकिएबमोजिम दस्तुर बुझाउनु पर्नेछ ।
४.१.३ यो ऐन प्रारम्भ भएका बखत आयुर्वेद चिकित्सा व्यवसाय गरिरहेका चिकित्सकहरुले दर्ता किताबमा नाम दर्ता गराउन यो ऐन प्रारम्भ भएका मितिले छ महीनाभित्र उपदफा ४.१.१ बमोजिम दरखास्त दिनु पर्नेछ ।
४.२ चिकित्सकको योग्यता :
४.२.१ यस ऐन बमोजिम चिकित्सकहरुको नाम दर्ता गर्ने प्रयोजनको लागि देहाय बमोजिमको योग्यता तोकिएकोछ :–
४.२.१.१ मान्यता प्राप्त शिक्षण संस्थाबाट आयुर्वेद विज्ञानमा आयुर्वेदाचार्य वा वैद्यरत्न वा आयुर्वेद स्नातक वा सो सरह उत्तीर्ण ।
४.२.१.२ अन्य चिकित्सा प्रणालीमा स्नातक उपाधि पश्चात् आयुर्वेद विज्ञानमा स्नातकोत्तर उपाधि प्राप्त ।
४.२.१.३ मान्यता प्राप्त शिक्षण संस्थाबाट आयुर्वेद तथा आधुनिक चिकित्सा एवं सर्जरीमा स्नातकोपाधि प्राप्त ।
४.३ दरखास्तसाथ प्रमाण, विवरण र सूचना संलग्न गर्नुपर्ने :
४.३.१ दफा ४.१ बमोजिम नाम दर्ता गराउन दरखास्त दिने चिकित्सकले दरखास्तसाथ देहायबमोजिम प्रमाण, विवरण एवं सूचनासमेत संलग्न गर्नु पर्नेछ :–
४.३.१.१ आफनो योग्यता सम्बन्धी प्रमाणपत्र वा सिफारिसपत्र,
४.३.१.२ विदेशको कुनै आयुर्वेद चिकित्सा परिषद् वा सो सरहको संस्थाको दर्ता किताबमा नाम दर्ता भएको रहेछ भने सो दर्ता किताबमा दर्ता भएको योग्यता वा उपाधि र दर्ता नम्बरसमेत खुलाएको विवरण,
४.३.१.३ यो ऐन र नियमको अधीनमा रही काम गर्नेछु भन्ने तोकिए बमोजिमको प्रतिज्ञापत्र ।
४.४ दरखास्त उपर कारबाही :
४.४.१. दफा ४.१ बमोजिम पर्न आएका दरखास्त उपर जाँचबुझ गरी प्रतिवेदन पेश गर्न परिषद्ले एक जाँचबुझ समिति गठन गर्न सक्नेछ ।
४.४.२ जाँचबुझ समितिले दरखास्तवाला चिकित्सक योग्यता प्राप्त चिकित्सक हो होइन र निजको दरखास्त रीतपूर्वक छ छैन भन्ने कुराको समेत जाँचबुझ गरी पन्ध्र दिनभित्र
परिषद्समक्ष प्रतिवेदन पेश गर्नु पर्नेछ ।
४.४.३. परिषद्ले उपदफा ४.४.२ बमोजिमको जाँचबुझ समितिको प्रतिवेदन उपर विचार गरी देहायबमोजिम निर्णय गर्न सक्नेछ :–
४.४.३.१ रीतपूर्वकको दरखास्त दिने योग्यता पुगेको चिकित्सकको नाम दर्ता किताबमा दर्ता गर्ने निर्णय गरी रजिष्ट्रारलाई दर्ता गर्न आदेश दिने,
४.४.३.२ रीत नपुगेको दरखास्त दिने व्यक्तिको नाम दर्ता नगर्ने गरी जुन कारणबाट नाम दर्ता नगरिएको हो सो कारण खुलाई दरखास्तवालालाई सूचना दिन रजिष्ट्रारलाई आदेश दिने ।
४.४.४ उपदफा ४.४.३.२ बमोजिम दर्ता किताबमा नाम दर्ता हुन नसकेको चिकित्सकले रीत पुयाई फेरि अर्को दरखास्त दिएमा पहिले दर्ता हुन नसकेको कारणले मात्र निजको नाम दर्ता किताबमा दर्ता गर्न अस्वीकार गरिनेछैन ।
४.५ दर्ताको प्रमाणपत्र :
परिषद्ले उपदफा ४.४.३.१ बमोजिम कुनै दरखास्तवाला चिकित्सकको नाम दर्ता गर्ने निर्णय गरी रजिष्ट्रारलाई आदेश दिएमा रजिष्ट्रारले त्यस्तो चिकित्सकको नाम दर्ता किताबमा दर्ता गरी तोकिए बमोजिम दर्ताको प्रमाण पत्र दिनु पर्नेछ ।
४.६ व्यवसाय छाडेमा वा ठेगाना बदलेमा सूचना गर्नुेपर्ने :
कुनै दर्तावाला चिकित्सकले आफनो व्यवसाय छाडेमा वा ठेगाना बदलेमा त्यस्तो चिकित्सकले व्यवसाय छाडेको वा ठेगाना बदलेको एक महीनाभित्र रजिष्ट्रारलाई तोकिए बमोजिम सूचना गर्नु पर्नेछ ।
४.७ नाम हटाउने र पुन नाम दर्ता गर्ने व्यवस्था :
४.७.१ देहायको कुनै अवस्थामा परिषद्ले कुनै दर्तावाला चिकित्सकको नाम दर्ता किताबबाट हटाउन आदेश दिन सक्नेछ :
४.७.१.१ नैतिक पतन देखिने फौज्दारी अभियोगमा अदालतबाट सजाय पाएको, वा
४.७.१.२ पेशा सम्बन्धी तोकिएको आचरण पालन नगरेको भनी परिषद्को दुई– तिहाई बहुमतले ठहराएको, वा
४.७.१.३ मगज बिग्रेको ।
४.७.२ उपदफा ४.७.१ बमोजिम दर्ता किताबबाट नाम हटाईएको चिकित्सकले मनासिब माफिकको कारण देखाई पुन नाम दर्ता गराउन दरखास्त दिएमा परिषद्ले निजको
नाम पुन दर्ता गर्न मनासिब देखेमा रजिष्ट्रारलाई नाम दर्ता गर्ने आदेश दिन सक्नेछ ।
४.७.३ उपदफा ४.७.२ बमोजिम आदेश प्राप्त भएमा रजिष्ट्रारले तोकिए बमोजिमको दस्तुर लिई त्यस्तो चिकित्सकको नाम दर्ता किताबमा पुन दर्ता गरी प्रमाणपत्र दिनु पर्नेछ।
४.८ प्रमाण–पत्र रद्द गर्ने :
धोखा वा गल्तीले कुनै व्यक्तिको नाम दर्ता किताबमा दर्ता हुन गएको रहेछ भन्ने कुरा जानकारी हुन आई सो कुरा जाँचबुझ गर्दा साँचो ठहरिन आएमा परिषद्ले त्यस्तो व्यक्तिको दर्ताको प्रमाण–पत्र खिची दर्ता रद्द गर्न सक्नेछ ।